असोज २४,हेटौँडा। हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि आक्रमणको अभियोगमा हिरासतमा रहेका ६ जना धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत मकवानपुरका न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनिहरु मगंलबार धरौटि बुझाएर रिहा भएका हुन् । आक्रमणको अभियोगमा हिरासतमा रहेकी रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा र सुनिल पाख्रीनलाई जनही २ लाख रुपैँयाका दरले अदालतले धरौटी माग गरेको थियो ।
यसैबिच चिकित्सक आक्रमणका अर्का आरोपी हेटौँडा १२ सिक्रेनिका सुुवास स्याङतानलाई आज बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। स्याङ्तानलाई हेटौंडा १० बाट पक्राउ गरिएको हो। मकवानपुर प्रहरीले चिकित्सक आक्रमण अभियोगमा १३ जना विरुद्ध अभियोजन लगाएको छ। जसमध्ये ६ जना अझै फरार रहेको प्रवक्ता भण्डारीले बताए।



