पुस१७,निजगढ।डिभिजन वन कार्यालय सिमरा,बाराले निजगढ नगरपालिकामा संचालित ८ ओटा क्रसर उद्योगलाई शर्त र कानुनको अधिनमा रहि व्यवसाय संचालन गर्न सचेत गराएको छ।वन कार्यालयले निजगढ–९ मा संचालित बकैया बालुवा प्रशोधन उद्योग ,दङ्गाल बालुवा प्रशोधन उद्योग ,वैष्णवी रोडाढुङ्गा उद्योग ,चौंलागाई रोडाढुङ्गा उद्योग ,लालबकैया रोडाढुङ्गा उद्योग ,हिमाल क्रसर उद्योग तथा वडा नं ४ मा संचालित नेपाल क्रसर उद्योग र शंकर स्टोन क्रसर उद्योगलाई नदिजन्य पदार्थको उत्खनन् देखि प्रशोधन ,उत्पादन एवं उपउत्पादन सम्मको व्यवस्थापनमा शर्तहरु र ऐन नियमको पालना गरेको नदेखिएको भन्दै एक पत्र लेखी सचेत गराएको हो।
उद्योग संचालकहरुले बिना प्रमाणपुर्जी उत्खनन् गरि ल्याईएका नदिजन्य पदार्थ खरिद गरेको,पालिकाबाट कार्यान्वयनको चरणमा रहेको प्रारम्भिक वातावरणीय परिक्षणका शर्तहरुको बर्खिलाप गरेको,नदिजन्य पदार्थको प्रयोगबाट उत्पादन भएका धुलो टेनडाउन,गिटि लगायतका उप उत्पादनहरुको उचित व्यवस्थापन नगरी बकैया खोलाको नदि उकास जग्गामा जथाभावी फालेको स्थलगत निरिक्षणमा देखिएको पत्रमा उल्लेख गरिएको छ।
उक्त कार्यहरु वन ऐन २०७६,वातावरण संरक्षण ऐन २०७६,वन नियमावली २०७९ र वातावरण संरक्षण नियमावली २०७७ विपरीत भएको हुँदा अब उपरान्त त्यस्ता गैरकानुनी कार्यहरु नगर्न अनुरोध गर्दै कानुन विपरित गरेको पाईए कानुन बमोजिम हदैसम्मको कार्वाही गर्ने तथा नदिजन्य पदार्थहरुको ओसारपसारमा प्रयोग हुने बोझबाहक सवारी साधन जफत समेत गरिने चेतावनी दिईएको छ।
डिभिजन कार्यालयले सव डिभिजन वन कार्यालय निजगढ र तामागढीलाई कानुनको बर्खिलाप गरे नगरेको स्थलगत अनुगमन र कार्वाहीको लागी आदेश दिएको छ भने निजगढ नगरकार्यपालिकाको कार्यालयलाई आवश्यक सहयोगको लागि अनुरोध पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय