माघ २३,हेटौँडा । कोइला अभावका कारण गत असोजदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडा–९ मा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको हो ।
कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएकोले उद्योग सञ्चालनमा आएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए। उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएपछि सिमेन्ट उद्योग बन्द भएको थियो । विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भए पनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी दिइएको महाप्रबन्धक पाण्डेले बताए ।
चार वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग समय–समयमा कोइला अभाव र उपकरण बिग्रिएर बन्द हुने गरेको छ । चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले घाटा पूर्ति गर्न र उद्योगलाई नाफामा लान नसकिने अवस्था रहेको उहाँको भनाइ छ । नयाँ मेसिन जडान नगरेसम्म सधैँ उद्योग बन्द र खुल्ने क्रम चलिरहने उद्योगका महाप्रबन्धक पाण्डेले बताउनुभयो ।
दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगबाट लामो समय उत्पादन नहुँदा मौज्दात सिमेन्ट बिक्री गरेर त्यसबाट प्राप्त रकमले कोइला सप्लायर्सहरूलाई भुक्तानी दिएको उहाँले बताउनुभयो । पाण्डेका अनुसार चालू आर्थिक वर्षमा उत्पादन भएको २ लाख ४९ हजार ४५६ बोरा सिमेन्टमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै मौज्दात छ । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापित उद्योगले विसं २०४३ सालबाट व्यावसायिक रुपमा उत्पादन सुरुवात गरेको थियो । गोर्खापत्रबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय