माघ २५, निजगढ । बारा प्रहरीले नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी गीरोहका सदस्यहरुलाई बिहीबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, बाराको परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल,पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा तत्कालै प्रहरीको टोली परिचालन गरी एकजनालाई नक्कली नोटसहित पक्राउ गरेपछि निजको वयानका आधारमा जिल्लाको विभिन्न ठाउँ र अन्य ठाउँबाट गरी चार जनालाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए ।
उनिहरुबाट ६१ हजार नक्कली नेपाली नोट, भारतीय सिमकार्ड र सात थान मोबाइलसमेत बरामद गरिएको प्रवक्ता न्यौपानेले बताए ।
उनिहरुले नक्कली रुपैयाँ भारतमा छापेर नेपालको विभिन्न ठाउँमा कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । नक्कली नोटको कारोबार गर्ने व्यक्तिहरु खासगरी भीडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा सक्रिय हुने गरेको प्रहरीले बताएको छ।



