माघ २८, रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ ।
गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका आलममाथि लागेको छ।
उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो । यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो ।
यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।



