फागुन ५,सिंगौल । ९ महिना अघि निर्माणकार्य शुरु भएको बाराको निजगढ नगरपालिका र रौतहटको गुजरा नगरपालिका जोड्ने झोलुङ्गे पुल निर्माणकार्य ठप्प भएको छ ।
निजगढ नगरपालिका अन्तर्गत सिंगौलकोे वडा नम्बर १ स्थित बनस्थली हाट बजार हुँदै रौतहटको अरुणवस्ती, पुरानो नर्सरी, इपिलवस्ती लगायतका स्थानहरुमा जोडीने धन्सार खोलाको भालुघाटमा निर्माणाधिन झोलुङ्गे पुल करीब १५ प्रतिशत निर्माण भएर अलपत्र परेको हो ।खोलाको वारी र पारी दुईओटा पिल्लर मात्र उठाईएको छ । निर्माण शुरु भएको लामो समय बित्दा पनि पुलको बाँकी निर्माणकार्यको कुनै सुरसार छैन।
उक्त पुल १ करोड २२ लाख रुपैँया लागतमा दुई वर्षमा निर्माणकार्य सम्पन्न गर्नेगरी निजगढ नगरपालिका र हेल्भेटास नेपालको सहकार्यमा ९ महिना अघि निर्माणकार्य सुरु गरीएको निजगढ नगरपालिकाका ईन्जिनीयर अशोक कुशवाहाले जानकारी दिए।
करीब २० लाख रुपैँया जती उपभोक्ता समितिलाई रकम निकासा भएको र सोही रकमबाट पिल्लर उठाउने काम मात्र भएको कुशवाहाले बताए। बाँकी बजेट अभावले काम रोकिएको उनको भनाई छ।
‘हामीले हेल्भेटाससंग रकम निकासाको लागी ताकीता गरीरहेका छौं,रकम आउने बितिक्कै काम शुरु हुन्छ ।’ उनले भने।
सो स्थानमा पुल नहुँदा विशेषगरी वर्षायाममा रौतहटतर्फबाट सिंगौल पढ्न आउने विद्यार्थी तथा हाट बजार भर्न आउनेहरुले सास्ती खेप्दै आएका छन्। सिंगौलस्थित नेपाल राष्ट्रीय उच्च माध्यमिक विद्यालयमा ८० प्रतिशत विद्यार्थी रौतहटतिरबाटै आउँछन्।
साथै त्यँहा पुल अभावले वर्षायाममा खोला तर्नेक्रममा वर्षेनी मानिसहरुलाई भेलबाढीले बगाउने गरेको छ ।
नगरपालिकाका अन्य स्थानमा विकास निर्माणका काम धमाधम भैरहेको अवस्थामा लामो समयसम्म पनि झोलुङ्गे पुलको निर्माण अघि नबढेकोप्रति स्थानीयले भने रोष प्रकट गरेका छन्।
सिंगौलबाट संचारकर्मी वशन्त लामाको सहयोगमा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय