फागुन ७,हेटौँडा । वागमती प्रदेशको राजधानी हेटौँडामा रहेको शहीद स्मारकमा मकवानपुर जिल्लाकै अग्लो झन्डा फहराइएको छ । स्मारक विकास समितिले प्रजातन्त्र दिवको अवसर पारेर सोमबार ६५ फिट अग्लो डण्डीमा २२ फिट लामो साइजको झण्डा फहराएको हो ।
कलाकार हरिवंश आचार्यले स्मारक परिसरमा झण्डोत्तलन गरेका हुुन्। हेटौँडाको मुख्य पर्यटकीय स्थल शहीद स्मारकमा प्रजातन्त्र दिवसको अवसर पारेर झण्डोत्तलन गर्न पाएकोमा आचार्यले खुसि व्यक्त गरे । उनले ६५ वर्षको उमेरमा ६५ फिटको झण्डा फहराउन पाउनुलाई ठूलो अवसरका रुपमा लिएको बताए ।
कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३ करोड नेपालीले रुचाएको व्यक्तिबाट ३ करोड नेपालीको राष्ट्रिय झन्डा फहराइएको बताए । पौडेलले स्मारक वागमती प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट पार्कका रुपमा विकास हुँदै गएको भन्दै यहाँ विदेशबाट समेत पर्यटकहरू आउने गरेको बताए ।
स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले आजैबाट स्मारक परिसरमा दैनिक बिहान १० बजे राष्ट्रिय गान बजाउने कार्यको समेत शुभारम्भ गरिएको बताए ।
कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशकी पूर्वराज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, हेटौँडा–११ का वडाअध्यक्ष जुना दाहाल, ४ नम्बर वडाअध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति थियो ।
जनपत्रको सहयोगबाट



