फागुन २३,निजगढ। बाराको निजगढ नगरपालिका वडा नम्बर ४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।
सामुदायिक वन छेउको बकैया खोला किनारमा वयस्क बाघ मृत फेला परेको सब डिभिजन बन कार्यालय तामागढीले जनाएको हो । स्थानीयले मृत बाघ देखेपछि निजगढस्थित सवडिभिजन वन कार्यालयमा खबर गरेका थिए । स्थानीयको सूचनापछि पुगेको पर्सा राष्ट्रिय निकुञ्ज र वनको प्राविधिकसहितको टोलीले बाघको शव उठाएको थियो । प्राविधिकका अनुसार चार–पाँच दिन अघि नै बाघको मृत्यु भएको जस्तो देखिएको र मृत्युको कारण भने परिक्षणपछि मात्रै खुल्नेछ ।
परिक्षणका लागि शरिरको ‘स्याम्पल’ लिएर बाघलाई वन कार्यालय हाताभित्र गाडिएको छ । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले बाघलाई गाडिएको र शवको स्याम्पल परिक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पठाइने जानकारी दिए ।
निकुञ्जको खोरमा उपचाररत एउटा पाटेबाघको एक साताअघि मृत्यु भएको थियो । घाइते अवस्थामा रहेको उक्त बाघलाई ११ महिनाअघि ठोरीबाट ‘डार्ट’ गरि ल्याएको र खोरमा राखेर उपचार गरिरहेका बेला मृत्यु भएको निकुञ्जले जनाएको छ ।
यो संगै पछिल्लो तीन वर्षमा बारामा चार वटा बाघको मृत्यु भएको छ । यसअघि २०७९ असोज १४ गते काठमाण्डौ–तराई (मधेस) द्रुतमार्ग अन्तर्गत निजगढमा एउटा पाटे बाघ ‘डिहाईड्रेसन’ का कारण मरेको थियो भने २०७७ पुष १८ गते पथलैया–अमलेखगञ्ज सडकखण्डमा कारको ठक्करबाट एउटा बाघको मृत्यु भएको थियो ।
सन् २०२२ मा गरिएको गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बाघ देखिएको थियो ।



