चैत्र ४, हेटौंडा।मकवानपुरको हेटौंडा-५ पिप्लेकी ७ वर्षिया बालिका बिनिशा पुडासैनीलाई घाईते बनाई फरार रहेका एकजना स्कुटरसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पिप्लेकै स्कुटर चालक २३ वर्षिय सागर पुडासैनी छन्।
ग.८ प ४१५२ नम्बरको स्कुटर चलाएका पुडासैनीले गत फागुन २५ गते बेलुका साँढे ८ बजेको समयमा पिप्ले स्थित हाम्रो पाठशाला छात्राबास छेउको भित्री सडकमा बालिका बिनिशालाई ठक्कर दिई फरार भएका थिए।

बालिकालाई ठक्कर दिने स्कुटर।
दुर्घटनाबाट टाउको र शरीरको बिभिन्न भागमा चोट लागि गम्भिर घाईते भएकी बिनिशालाई उपचारका लागी हेटौडा अस्पताल पठाईएको थियो। बालिकाको त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको थियो। बालिकाको अवस्था हाल सम्म पनि गम्भिर नै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उक्त घटना सम्बन्धमा बिशेष अनुसन्धान टोली गठन गरी सिसिटिभी फुटेज र घटनास्थल वरपरका व्यक्तीहरुसंग सोधपुछ गरि फरार रहेका पुडासैनीलाई पक्राउ गर्न सफल भएको कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले बताए।
पुडासैनी माथी ‘‘सवारी दुर्घटनाबाट मानिस अंगभंग’’ शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान तथा कारबाही अगाडी बढाईएको डिएसपी भण्डारीले जानकारी दिएका छन्।



