चैत्र ६,निजगढ ।बाघको आक्रमणबाट निजगढकी एक महिला घाईते भएकीछिन्। घाईते हुनेमा निजगढ नगरपालिका-११ रतनपुरकी ४५ वर्षिया दिलकुमारी पुलामी मगर छिन्।
पुलामीलाई मंगलबार दिउँसो बाख्रा चराउन जाँदा तपोभुमी सामुदायिक बन क्षेत्रमा बाघले आक्रमण गरेको थियो।बाघको आक्रमणबाट पुलामीको छात्ति र पिठ्युँमा चोट लागेको छ।
उनको हाल निजगढस्थित सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।
पिठ्युँमा भने टाँका समेत लगाउनुपरेको अस्पतालका चिकित्सक मुन्नाकुमार साहले बताए।
घाईते पुलामीको स्वास्थ्य अवस्था बुझ्न निजगढ नगरप्रमुख सुरथ पुरि,उपप्रमुख सोममाया थिङ लगायत अस्पताल पुगेका थिए।
बाघले पछाडिबाट एक्कासि आक्रमण गरेको घाईते पुलामीले बताएकी छिन्।आक्रमण पछि लडेकी उनलाई सँगै गोठालो गएका दुईजना साथिहरुले बचाउन सफल भएका थिए।उनिहरुको ३ ओटा बाख्रा भने बाघले मारेको छ।
निजगढ आसपास क्षेत्रमा केही महिनादेखी बाघ आतंक बढिरहेको छ। बाघको आक्रमणबाट मानवीय क्षती नभएपनी स्थानियको खसिबाख्रा भने मार्ने गरेको थियो। गत फागुन २३ गते उक्त क्षेत्रमा एउटा वयस्क पाटे बाघ मृत फेला परेको थियो।



