चैत्र १२,हेटौंडा। धनुषामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको प्रहरीले जनाएको छ । सोही ठाउँका २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजे जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुर तर्फबाट ढल्केवरतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
एम्बुलेन्स र मोटरसाइकल तीव्र गतिमा रहेकै कारण दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबैजना गम्भीर घाइते भएका थिए ।
जितेको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ साढे ७ बजे चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार गम्भीर घाइते सरोजको प्रादेशिक अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि अन्यत्र रेफर गरिएको छ ।
एम्बुलेन्स चालक फरार रहेको र खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



