चैत्र १६,हेटौंडा। हाम्रो नेपाली पार्टी (हानेपा)ले वागमती प्रदेशमा पर्यटन तथा संस्कृति मन्त्री बनेका आफ्ना सांसद शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ ।बज्राचार्यले पर्यटन मन्त्रीको शपथ लिएको भोलिपल्टै हानेपाले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध सरकारमा सहभागी भएको भन्दै कारबाही गर्ने जनाएको हो।
चैत्र ३ र ४ गते काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकको निर्णय बिपरित सत्ता गठवन्धनको मोहजालमा परि बज्राचार्यले मन्त्री पदको शपथ लिएको पार्टीका अध्यक्ष ई.अनन्तराज घिमिरेले बताए।
आफ्ना सभासदलाई सत्तारुढ दलले अपहरण गरेर मन्त्री बनाएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई विकृत राजनितिक संस्कार सिकाएको आरोप पनि लगाए ।
एउटा प्रदेशको माननीयलाई राजनीतिक अपहरण गरेर मन्त्री बनाइनु लज्जास्पद विषय भएको उनले बताए।
बागमती प्रदेश सभामा हानेपा संसदीय दलका नेता बज्राचार्य बुधबार सरकारमा सहभागी भएका थिए ।
बज्राचार्य मन्त्रीमा नियुक्त हुनु अगाडि पार्टीसँग कुनै छलफल नगरेको र शुक्रबार बिहानसम्म पनि सम्पर्क हुन नसकेको अध्यक्ष घिमिरेको भनाई छ । यद्यपि बज्राचार्यले भने पार्टीको सल्लाहमै मन्त्री नियुक्त भएको बताएका थिए।

बिहिवार साँझ मन्त्री पदको शपथ लिँदै बज्राचार्य ।
पत्रकार सम्मेलनमा हानेपाका अध्यक्ष घिमिरे लगायत उपाध्यक्ष ई.अरुण रौनियार,पार्टी प्रवक्ता ई.रोहन कार्की र सचिवालय सदस्य डा.बिनोद बजगाईंको उपस्थिति थियो।



