बैशाख ३०,निजगढ। बाराको निजगढ नगरपालिका–५ वागदेवमा अवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयका शिक्षक–शिक्षिकाहरु हरेक शुक्रबार आ–आफ्ना जातीय पोशाकमा विद्यालयमा उपस्थित हुन थालेका छन्।
विद्यालयको व्यवस्थाअनुसार प्रत्येक हप्ता शुक्रबार शिक्षक र विद्यार्थी आआफ्ना जातीय पोशाकमा सजिएर विद्यालय आउने क्रम नियमित र व्यवस्थित गर्न यो अभियान सुरु गरीएको हो ।
गुरुङ, तामाङ, मधेसी, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पठनपाठन गर्ने यस विद्यालयमा साताको एक दिन शिक्षक–शिक्षीकाहरु मौलिक पोशाकमा सजिएर विद्यालय पुग्ने गर्दछन् ।


धेरै जातजातिको बसोबास रहेका कारण शिक्षकहरू आ–आफ्ना जातीय पोशाकमा सजिएर विद्यालय आउदा आफ्नै मौलिक पहिरनको प्रवद्र्धन तथा विद्यार्थीबीच एकअर्का जातिको विशेषता चिन्न, बुझ्न र सम्मान गर्न सहयोग पुग्ने विद्यालयले विश्वास लिएको छ ।
अभियानले पोशाक लगाउने सीपको विकास हुनुका साथै औपचारिक शिक्षाको व्यावहारिक ज्ञान हुने विद्यालयको ठम्याइ छ। आफ्नो मौलिक पोशाकबारे जानकारी पाउँदा नयाँ पुस्ताबाट संस्कृति र परम्पराको निरन्तरता हुने देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए।
‘अहिले शिक्षकहरुबाट सुरु गरेका छौँ बिस्तारै विद्यालयले अभियान सञ्चालनका लागि सबै अभिभावक र वडाका जनप्रतिनिधिहरूसँग छलफल गरेर विद्यार्थीलाई समेत जातीय पोशाक खरिद गरी लगाउने बानी बसाल्न विद्यालयले आह्वान गरेर यस वर्षदेखि नियमित गर्ने तयारीमा छौँ।’ अध्यक्ष गौतमले भने।
गुरुहरुले जातीय पोशाक लगाउन शुरु गरेपछि आफूहरुले विभिन्न जातजातिको मौलिक पोशाकबारे जानकारी पाउने र लगाउने तरिका बारे सिक्ने अवसर मिलेको विद्यार्थीहरुको भनाई छ।
जातीय विविधताको उजागर गरेर पहिचानको प्रबद्र्धन गर्न र सबै समुदायको संस्कृतिप्रति सम्मान जगाउन विद्यालयका शिक्षकहरुले जाती अनुसारको पोशाक लगाउन शुरु गरेको प्रधानाध्यापक हस्तबहादुर लामा बलको भनाई छ ।
‘सामाजिक विषयको पाठ्यक्रममै जात, धर्म, संस्कार, संस्कृति, बाजागाजा र पोसाकको पढाइ गर्नुपर्ने हुन्छ। त्यसैको सिलसिलामा यी विषयहरूको व्यावहारिक ज्ञान दिन यो व्यवस्था गरेका हौँ’, प्रधानाध्यापक बलले भने, ‘कक्षा १ देखि १२ सम्म नै तस्बिर देखाएर यो फलानो जातिको पोसाक भनेर देखाउनु, चिनाउनु, पढाउनुभन्दा यो गरेपछि हरेक कक्षाकोठा नै शैक्षिक सामग्री र मोडल बन्छ। त्यहीँ सिकाइ हुन्छ।’
विद्यालयले जातीय पोशाक लगाउने व्यवस्था गरेर नयाँ सन्देश दिन खोजिएको प्रधानाध्यापक बलको भनाइ छ ।
२०२२ सालमा स्थापना भएको यस विद्यालयमा ६ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १६ महिला शिक्षिकासहित ३० शिक्षक ४ जना कर्मचारी कार्यरत छन । निजगढ न्युजको सहयोगबाट।





