जेठ ७, काठमाडौं ।चालु आव २०८०÷८१ को वैशाख मसान्तसम्म ६ लाख ९ हजार ७०५ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो । वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् ।
आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेकाले यो वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षकै हाराहारीमा पुग्ने देखिन्छ । गत आर्थिक वर्ष २०७९÷८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात लाख थियो ।
गत आवको १० महिनामा वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २५५ जना बाहिरिएको विभागको तथ्याङ्क छ ।
विभागका अनुसार वैशाखमा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन् । वैशाखमा मात्रै १६ हजार ९४९ जना मलेसिया पुगेका छन् ।
त्यस्तै वैशाखमा रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई)मा १६ हजार ५१२ जना, कतारमा ११ हजार १०७, साउदी अरबमा ११ हजार ६१ जना र कुवेतमा ३ हजार ३८६ जना पुगेका छन् भने जापानमा १ हजार २९८ जना, रोमानियामा १ हजार ८४ जना र क्रोएसियामा १ हजार ८१ जना रोजगारीका लागि गएका छन् ।
यो आवको १० महिनामा भने संयुक्त अरब इमिरेट्स (यूएई) जानेको संख्या सबैभन्दा धेरै छ । वैशाखसम्म यूएईका लागि १ लाख ५४ हजार ४९३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । १० महिनामा मलेसिया भने ७९ हजार जना पुगेका छन् ।



