जेठ १४,हेटौंडा । रौतहटको चन्द्रपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ। दुइ साताअघि सजाय निर्धारणको पेसी तोकिएपछि आज सोमबार कैद तथा जरिवाना सुनाइएको हो।
विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार नगरप्रमुख रामचन्द्र चौधरी र प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देललाई जनही ४–४ वर्ष कैद भएको हो। सात महिनाअघि दायर मुद्दामा एक साताअघि उनीहरुलाई दोषी ठहर गरिएकोमा आज सजाय सुनाइएको हो।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मेयर चौधरी तथा प्रशासकीय अधिकृत सिग्देलले क्रमशः ३७ लाख ३४ हजार रुपैयाँ र २८ लाख २२ हजार रुपैयाँ जरिवाना पनि तिर्नुपर्ने फैसला गरेको हो।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अनुसन्धानले देखाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ कात्तिक २०८० मा मुद्दा दायर गरेको थियो। आशिक कन्स्ट्रक्सन सँगको मिलेमतोमा राजस्व चुहावट गरेको अभियोगमा मेयर चौधरी दोषी ठहर भएका हुन्।
यसैगरी, उक्त कन्स्ट्रक्सनका सञ्चालक रामविनोद बरै भ्रष्टाचारका दुई मुद्दामा दोषी पाइएका थिए। उनलाई एउटा मुद्दामा चार वर्ष कैद र मेयर चौधरी बराबर नै जरिवाना हुने भएको छ भने अर्को मुद्दामा पनि उति नै कैद र २८ लाख २२ हजार जरिवानाको सजाय सुनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय