जेठ २१,हेटौंडा । साँढे चार दशक लामो राजनीतिक जीवनको अनुभव संगालेका एमाले नेता श्रीधर पोखरेल नेकपा एमाले मकवानपुरको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
पार्टीको १२ औँ जिल्ला अधिवेशनमा पोखरेलले झण्डै ४१ प्रतिशत प्रतिनिधिको मत पाएर निर्वाचित भएका हुन्। पोखरेलले कुल ७६५ मतमध्ये ३१३ मत पाएका थिए । उनका निकट्तम प्रतिद्धन्दी इन्द्रमान स्याङ्तानले २६२ मत प्राप्त गरे ।
पार्टी जिल्ला उपाध्यक्षका लागि हिदम लामालाई धेरै मत प्राप्त भएको छ । लामाले कुल मतको ४७६ मत पाएका थिए । लामालाई सुनिल मोक्तानले १९७ मतले पछ्याएका थिए ।
यसैगरी सचिवमा सिता बिष्ट विजयी भएकी छिन् । २९७ मत सहित बिष्ट विजयी हुँदा निकट्तम प्रतिद्धन्दी मदन दाहालले २५५ मत प्राप्त गरे ।

नवनिर्वाचित पदाधिकारीहरु
उप सचिवमा फुर्वा दोर्जे लामा र आरती पाठक विजयी भएका छन् । लामा र पाठकले समान २४१ मत पाए। उनीहरुका निकट्तम प्रतिद्धन्दीहरु दिपक खड्काले १६७ र कल्पना बलामीले १५६ मत पाएका थिए ।
सहमती नजुटेपछि नेतृत्व चयनका लागी हिजो निर्वाचन गरीएको थियो । आज बिहान पौने १० बजेबाट मत गणना सुरु गरिएका हो । पदाधिकारीहरुको अन्तिम मत परिणाम सर्वजनिकपछि अब सदस्यहरुको मतगणना गरिने छ ।



