जेठ १३,निजगढ।जिल्ला प्रहरी कार्यालय बाराले अवैध रूपमा सञ्चालन भइरहेको एउटा मदिरा भट्टी नष्ट गर्नुका साथै ठुलो परिमाणमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ।
प्रहरीले दिएको जानकारी अनुसार हिजो दिउँसो अन्दाजी ३ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर बाराबाट प्र.ना.नि. अजय बहादुर क्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त कारबाही गरेको हो।

जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नं. ०६ पटेर्वा बस्ने संजित कल्वारेले आफ्नै खेतमा २ कोठे टहरा बनाई अवैध रूपमा मदिरा भट्टी सञ्चालन गरिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो।
प्रहरी टोलीले उक्त स्थानमा छापा मारी मदिरा तयार पार्नका लागि राखिएको अन्दाजी १ हजार लिटर कच्चा पदार्थ फेला पारेको थियो।
उक्त कच्चा पदार्थको बजार मूल्य अन्दाजी रु. ६०,०००/- (साठ्ठी हजार) बराबर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले फेला परेको उक्त मदिरा भट्टी र सम्पूर्ण कच्चा पदार्थ सोही स्थानमा नष्ट गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्र.नि. सुरेश राज भट्टद्वारा जारी प्रेस विज्ञप्ति (नं. ८८) मार्फत यस घटनाको आधिकारिक पुष्टि गरिएको हो।
स्थानीय क्षेत्रमा अवैध मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण गर्ने प्रहरीको नियमित अभियान अन्तर्गत यो कारबाही गरिएको बताइएको छ।




