जेठ १४,निजगढ। नेकपा (एमाले) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी सरिता सापकोटाले अनलाइन सञ्चार माध्यम ‘जनता टाइम्स’ मा प्रकाशित एक समाचारप्रति गम्भीर आपत्ति जनाउँदै कानुनी कारबाहीको चेतावनी दिएकी छिन्।

एमालेको बारा जिल्ला कमिटी सदस्य रहेकी सापकोटाले हिजो मात्रै औपचारिक रूपमा रास्वपामा प्रवेश गरेको बताएकी थिईन्।

जनता टाइम्सले “चुनावमा चुपचाप घन्टी छापवाला बिकाउ माललाई उचाल्दै नविना लामा, रामेछापदेखि बारासम्मका सबै घन्टी छाप एमाले उक्साएको आरोप” शीर्षकमा समाचार सामग्री सम्प्रेषण गरेपछि उनी आक्रोशित बनेकी हुन्।

उक्त अनलाइनले प्रयोग गरेको ‘बिकाउ माल’ जस्ता अमर्यादित शब्द र दल परिवर्तनको विषयलाई लिएर लगाएको आरोपप्रति सापकोटाले कडा प्रतिवाद गरेकी छिन्।

​चरित्र हत्या गरेको आरोप, माफीको माग

नेतृ सापकोटाले जनता टाइम्सका पत्रकारले प्रेस काउन्सिलको आचारसंहिता विपरीत कार्य गरेको र त्यसका कारण आफू मानसिक हिंसामा परेको उल्लेख गरेकी छिन्।

आफ्नो व्यक्तिगत स्वतन्त्रता तथा संवैधानिक अधिकारको प्रयोग गर्दै रास्वपा प्रवेश गरेको स्पष्ट पार्दै उनले भनिन्, “मेरो राजनीतिक तथा व्यक्तिगत चरित्रमाथि आधारहीन आरोप लगाई चरित्र हत्या गर्ने अधिकार कसैलाई पनि छैन।”

​उनले प्रेस स्वतन्त्रताको नाममा कसैको मानमर्दन, गालीबेइज्जती वा अपमान गर्ने छुट कुनै पनि कानुनले नदिएको स्मरण गराएकी छिन्।

​अदालत र महिला सेल जाने चेतावनी

सापकोटाले आफूमाथि गरिएको भ्रामक र अपमानजनक अभिव्यक्तिको विषयलाई लिएर तत्काल सार्वजनिक रूपमा माफी नमागिए कानुनी उपचार खोज्ने स्पष्ट पारेकी छिन्।

​उनले सार्वजनिक रूपमा माफी नमागिए नेपालको संविधानको धारा ३८ (महिलाको हक) तथा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गालीबेइज्जती, मानहानी र चरित्र हत्या सम्बन्धी कानुनी व्यवस्था बमोजिम हदैसम्मको कारबाहीको माग गर्दै तुरुन्त महिला सेल र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएकी छिन्।

आफ्नो राजनीतिक जीवन, व्यक्तिगत प्रतिष्ठा तथा सामाजिक सम्मानमाथि आँच पुर्‍याउने जो-कोहीलाई पनि कानुनको दायरामा ल्याउने उनको दृढता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय