कार्तिक १८,हेटौंडा। सामाजिक अभियन्ता बिशालराज महतले हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख पदमा गैरदलीय उम्मेद्वारी दिने घोषणा गरेका छन्।

चुनावी प्रतिस्पर्धामा पटक–पटक पराजय व्यहोरे पनि आफू जनताको सेवाबाट कहिल्यै विचलित नभएको उल्लेख गर्दै उनले हेटौंडाको समग्र विकास र नगरवासीको हकहितका लागि आगामी निर्वाचनमा मेयर पदमा दाबी प्रस्तुत गरेका हुन्।

​चुनावी हार-जितलाई स्वाभाविक परिणामका रूपमा लिँदै महतले पदमा नहुँदा पनि आफू निरन्तर जनसेवामा सक्रिय रहँदै आएको बताएका छन्।

हेटौंडा अस्पताल, जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रशासन, नगरपालिकालगायतका सार्वजनिक निकाय र मालपोत कार्यालयमा सर्वसाधारणका समस्या समाधानका लागि धाउनु, बिरामीको सहारा बन्नु, अन्याय तथा अनियमितताविरुद्ध निरन्तर आवाज उठाउनु र विकासका योजनाहरू अघि सार्नु आफ्नो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको उनको भनाइ छ।

​जनहितका मुद्दामा सम्झौता नगर्दा दबाब, धम्की, मुद्दा र हातपातसम्मको सामना गर्नुपरेको अनुभव सुनाउँदै महतले समाजसेवालाई पद हासिल गर्ने माध्यम नभई जनताप्रतिको जिम्मेवारीका रूपमा अङ्गीकार गरेको बताएका छन्।

जनताको पीडा र दुःख देख्दा चुप लागेर बस्न नसक्ने बताउने महतले अब भने समस्या उठाउने र सुन्ने काममा मात्र सीमित नरही निर्णायक तहमा पुगेर तिनको ठोस समाधान र नतिजा दिने चाहना व्यक्त गरेका छन्।

​आफ्नो उम्मेद्वारी हेटौंडालाई व्यवस्थित नगरका रूपमा विकास गर्ने दूरदृष्टिसँग जोडिएको उनले उल्लेख गरेका छन्। युवाहरूलाई दुर्व्यसनबाट मुक्त गरी उत्पादन र रोजगारीमा जोड्ने, स्वास्थ्य र शिक्षामा सुधार ल्याउने, सार्वजनिक तथा वनजङ्गलको उचित उपयोग गर्ने र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उनका प्राथमिकता रहेका छन्।

यसका साथै राजस्व चुहावट नियन्त्रण, करमा सहुलियत, न्यायपूर्ण बजेट तर्जुमा र नगरवासीलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्ने सपना उनले अघि सारेका छन्।

​औपचारिक पदको अनुभव नभए पनि आफूसँग जनताका समस्या बुझ्ने क्षमता, चुनौतीसँग जुध्ने आँट, समन्वयकारी विश्वास, इच्छाशक्ति र स्पष्ट खाका रहेको महतले दाबी गरेका छन्।

आफ्नो विगतको सङ्घर्ष, समर्पण र कमजोरीको उचित मूल्याङ्कन गर्ने सम्पूर्ण अधिकार हेटौंडाका मतदातामै निहित रहेको बताउँदै उनले हेटौंडाको समृद्धिलाई कुनै एक व्यक्तिको सपना नभई सबै नगरवासीको साझा जिम्मेवारीका रूपमा व्याख्या गरेका छन्।

पद प्राप्तिका लागि नभई हेटौंडामा सकारात्मक रूपान्तरण ल्याउने र नगरवासीका पीडा कम गर्ने उद्देश्य बोकेको भन्दै उनले हेटौंडावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग साथ, विश्वास, सुझाव र अमूल्य मतको अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय