भदौ २९,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १२ स्थीत पदमपोखरीमा प्रहरी चौकीको स्थापना भएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले शुक्रबार चौकीको उद्घाटन गरेका छन्। चौकीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताए ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड २६ लाख १५ हजार १ सय १७ रुपैया बजेटमा १ कठ्ठा ९ धुर क्षेत्रफलमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवास सहित ३ तल्ले प्रहरी चौकिको निर्माण भएको जिल्ला प्रहरी कार्यलय मकवानपरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, कानून मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेंढाई, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेउनपा १३ का वडाअध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सिताराम रिजाल, प्रहरी उपरिक्षक चित्र गुरुङ, राकेश सिह, सशस्त्र प्रहरी उपरिक्षक अनिल कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चौकी निर्माणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।



