३० भदौ, काठमाडौं । काठमाडौंको तिनकने स्थित गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल छन् । त्यस्तै मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको पनि सोही स्थानमा हत्या भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार चारै जना सोही सःमिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।



