कार्तिक २३,निजगढ। बाराको सिम्रौनगढमा २ थान पिस्तोल र १० राउण्ड गोलीसहित ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सिम्रौनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने वर्ष ६२ का रुपलाल पटेल, उनका दुई छोराहरु बर्ष ४० का उपेन्द्र पटेल र बर्ष २७ का धिरेन्द्र पटेल, रौतहटको बौधीमाई नगरपालिका वडा नं.२का बर्ष ४४ का राजमंगल पटेल र सोही स्थान बस्ने बर्ष ८० का सोभा राउत छन्।

बिहीबार बिहान ८ बजे सिम्रौनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने रूपलाल पटेलका छोरा उपेन्द्र पटेलले आफ्नो घरकोठामा अवैधरुपमा हतियार लुकाई छिपाई राखेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरीको विशेष टोली खटिएको थियो ।प्रहरी टोलीले पटेलको घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोलाभित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको अवस्थामा १० राउण्ड गोलीसहित दुई थान पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उक्त हतियारसहित पक्राउ परेका पाँचैजना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



