मंसिर १७,निजगढ। काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युल स्टेशन संचालनमा आएको छ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आइतबार स्टेशनको शुभारम्भ गरेका छन् ।
सेवा प्रारम्भ भएसंगै सिमरा विमानस्थलमा अवतरण गर्ने विमानले आवश्यकता अनुसार इन्धन भर्न सक्नेछन् । देशकै पुरानो विमानस्थल भएपनि यसअघि इन्धन रिफ्युल सुविधा नहुँदा आपतकालिन अवतरण गर्नुपर्ने विमानलाई अन्यत्र पठाइने गरिएको थियो ।
अब काठमाडौंमा अवतरण गर्न नसकेका जहाजलाई १५ मिनेटको दुरीमा रहेको सिमरा पठाउन सहज भएको छ । इन्धन स्टेशन सुरु भएपछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्नुका साथै उड्यन उद्योग र यात्रुलाई फाईदा पुग्ने निगमको भनाई छ ।
जहाजमा इन्धन भर्न यतिबेला सिमरा विमानस्थलमा तीन वटा ट्यांकर राखिएको छ । जनकपुरबाट इन्धन भरेर आउने ट्यांकरले सिमरा विमानस्थलमा अवतरण भएका जहाजलाई इन्धन उपलब्ध गराउनेछ । ट्यांकर खाली भएमा पुनः जनकपुर पुगेर इन्धन भर्नेछ । १४ किलोमिटरको दुरीमा निगमको अमलेखगञ्ज डिपो भएपनि इन्धन भर्न ट्यांकर जनकपुर पुग्नेछन् ।
नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका प्रमुख प्रदीपकुमार यादव र सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले कार्तिक २२ गते इन्धन डिपो राख्न सम्झौता गरेका थिए ।
सम्झौताअनुसार डिपो स्थापनार्थ नागरिक उड्डयन प्राधिकरण सिमराले पाँच कठ्ठा जमिन उपलब्ध गराउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय