पुुस ६,निजगढ। बाराको निजगढ नगरपालिका वडा नं–७ मा शहीद हिरालाल स्मृति प्रतिष्ठान सामुदायिक भवन निर्माण हुने भएको छ । संघीय सरकारको तराई सम्मृृद्धि कार्यक्रम अन्तर्गत ३० लाखको लागतमा भवन निर्माण हुन लागेको शहीद हिरालाल स्मृति प्रतिष्ठानका अध्यक्ष एकबहादुर श्रेष्ठले बताए।
बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले भवनको संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

भवनको शिलान्यास गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र प्रतिनिधिसभा सदस्य अच्युत मैनाली लगायत ।
भवन निर्माण गर्न स्थानीय किरण श्रेष्ठले १० धुर जमिन दान स्वरुप प्रदान गरेका छन् । तीन तले भवन निर्माण गर्ने डिजाईन गरिएपनि अहिले दुई तले भवनको मात्र ढलान हुने भवन निर्माण समितिका अध्यक्ष गोकुल घोरसाइनेले जानकारी दिए । घोरसाइनेले चालु आर्थिक बर्षभित्र भवन निर्माण गरीसक्ने पनि बताए।
जनआन्दोलन २०६२÷०६३ का शहीद हिरालाल गौतमको स्मृतिमा भवन निर्माण हुन लागेको हो। निजगढ ५ निवासी गौतमले १९ दिने जन आन्दोलनका क्रममा शहादत प्राप्त गरेका थिए ।



