पुस २४,हेटौंडा । मकवानपुरको डिभिजन वन कार्यालय, राप्ती मनहरीका तत्कालिन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रूपैँया पचपन्न पैसा बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी गरेको छ ।
२०४६ साल जेठदेखि सार्वजनिक पदमा पुगेका उनले यो अवधिमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दावी छ । अख्तियारले सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती गीता पौडेल कोइरालाबिरुद्ध पनि मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार अधिकृत कोइरालाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
सम्पत्ति विवरण अस्वाभाविक देखिन आएकाले सार्वजनिक पदमा रहेका कोइरालाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरेको आयोगको विज्ञप्तिमा छ ।



