पुस २८,निजगढ ।बाराको निजगढ नगरपालिका वडा नं ६ मा संचालित वागदेव दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुको २ पाक्षिक (असोज १५ देखि कार्तिक १५)सम्मको बक्यौता रकम वितरण गरिरहेको छ।
२ पाक्षिकमा झण्डै १ करोड ५० लाख रुपैयाँ जति दुग्ध किसानहरुलाई वितरण गरिने संस्थाका प्रवन्धक सौरभ अधिकारीले जानकारी दिए। ‘हामिले २ पाक्षिकको आधिजसो किसानहरुको भुक्तानी गरिसक्यौँ,अब २÷३ दिन भित्र सबै भुक्तानी गर्छौँ।’ अधिकारीले भने।
उनका अनुसार संस्थाले अझै कार्तिक १५ देखि पुस १५ गते सम्म ४ पाक्षिकको झण्डै ३ करोड रुपैयाँ किसानहरुलाई भुक्तानी गर्न बाँकी रहने बताए।
उनले दुग्ध क्षेत्रमा देशैभर संकट उत्पन्न भएकाले किसानहरुलाई समयमा भुक्तानी दिन नसकिएको बताए ।‘अहिले हरेक क्षेत्रको मार्केट डाउन छ, दुधको सवालमा पनि त्यही भएको हो। उत्पादन बेसी भयो,खपत कम भयो।’ उनले भने ‘उद्योगीहरुले पनि दुध बेच्न नसकेर “कन्भर्जन”(दुधलाई नौनी र पाउडर बनाउने कार्य) गरेर स्टक गर्नु परेको अवस्था छ ।’
लामो समय बित्दा पनि संस्थाले भुक्तानी नगरेको भन्दै किसानहरुले पहिले भुक्तानी गरेर मात्र साधरणसभा गर्नुपर्ने आवाज उठाएका थिए।
यद्दपी संस्थाको १३ औँ साधारणसभा बाट हिजो शुक्रबार मात्रै नयाँ कार्यसमितिले पूर्णता पाएको छ।संस्थामा थानेश्वर सापकोटा अविरलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति तथा राजनप्रसाद तिमल्सिनाको संयोजकत्वमा ३ सदस्यीय लेखासमिति निर्वाचित भएका छन्।



