माघ २१,हेटौंडा । काठमाडौंबाट बारातर्फ आउँदै गरेको सुमोमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कोल्हवी नगरपालिका वडा नं.६ पर्सौना बस्ने ६० बर्षीय द्वारिका चौधरी रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार काठमाडौंबाट बारा जान आउँदै गरेको ना १ज ७९५८ नम्बरको सुमो मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ चिसापानी गढीमा रोकेर खाजा खान होटलतर्फ जाने क्रममा चौधरी बेहोस भएर लडेका थिए ।
उनको तत्काल उद्धार गरी स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि सोही सुमोमा राखेर हेटौंडा अस्पतालमा ल्याईएको थियो । उनको उपचारकै क्रममा साँझ ७ बजेर २५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



