फागुन २८,हेटौंडा। मकवानपुरको हेटौंडा हुँदै काठमाण्डौ जोडिने कान्तिराजपथ डेढ् महिनाका लागी बन्द हुने भएको छ । सडकखण्ड अन्र्तगत ललितपुरको काल्चे खण्डमा सडक चौडा पार्न चैत १ देखि वैशाख १५गतेसम्म कान्तिराजपथमा यातायात बन्द गरिन लागेको हो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको छ । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई भने सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय गरेको छ ।
काल्चेदेखि बगुवासम्म करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएकाले सो काम सक्न ४५ दिन लाग्ने अनुमान गरीएको कान्तिराजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए ।



