चैत्र १५,हेटौंडा। नेपाल निर्माण व्यवसायी महासंघको २५ औँ साधारणसभा हेटौंडामा हुने भएको छ। साधारणसभा शुक्रबार र शनिबार दुई दिन हुने महासंघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएको हो।
मकवानपुर निर्माण व्यवसायी संघको सह आयोजनामा हुने साधारणसभाको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल`प्रचण्ड´ले उद्घाटन गर्ने सम्मेलनमा जानकारी गराईयो।
उद्घाटन सत्रमा उपप्रधान एवं भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ,शहरी विकास मन्त्री धनबहादुर बुढा,वागमतीका मूख्यमन्त्री शालिकराम जम्मकट्टेल लगायत सांसद,सचीव विभिन्न राजनीतिक दलका प्रतिनिधि,स्थानीय जनप्रतिनिधि,विभिन्न औद्योगिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ।
सभामा महासंघमा आवद्ध देशभरका करीब ११ सय प्रतिनिधि र ५ सय पर्यवेक्षकले सहभागिता जनाउने महासचिव रोशन दाहालले जानकारी गराए।
उद्घाटन सत्रमा निर्माण क्षेत्रमा केन्द्रित बिज्ञहरुको लेख रचना एवं महासंघको गतिविधि समेटिएको `निर्माण विशेषांक´स्मारिकाको बिमोचन गरिने पनि महासचिव दाहालले बताए।
साधारणसभा भव्यरुपमा सफल पार्न महासंघका अध्यक्ष रबि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको उनले बताए।साधारणसभा स्थलमा निर्माण कंपनिसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने जनाईएको छ।
महासंघले काठमाडौ उपत्यका बाहिर सातौँ पटक साधारणसभा गर्न लागेको महासंघका अध्यक्ष रबि सिंहले बताए।साधारणसभामा एक करोडको हाराहारीमा खर्च हुने उनको भनाई छ।



