चैत्र १५,हेटौंडा । हाम्रो नेपाली पार्टी हानेपा वागमती प्रदेश सरकारमा सहभागी भएको छ । विहिबार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रीका रुपमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त संस्कृति मन्त्रि बज्राचार्यलाई विहिबार साँझ नै सपथग्रहण गराएका छन्।
मंगलबार मात्र हानेपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मन्त्रीका रुपमा सपथग्रहण गरेलगतै पत्रकारहरुसंग प्रतिक्रिया दिदै मन्त्री बज्राचार्यले प्रदेशमा आफुहरु सरकारमा सहभागी नहुँदा फेरी चुनाबमा जानुपर्ने बाध्यात्मक अवस्था आएकाले सरकारमा सहभागि भएको बताए।
केन्द्रमा समिकरण फेरीएसँगै वागमतीमा जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमतका लागि १ मतको आवश्यकता रहेको थियो । हानेपासँग दुई सांसद रहेका छन् ।
गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।
वागमतीमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । सरकार टिकाउन १ मत आवश्यक पर्ने भएपछि हानेपाको समर्थन जोगाइराख्न माओवादीले कसरत गरिरहेको थियो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।



