चैत्र ३०,हेटौंडा। पत्रकारिता समाजले पत्याएको मर्यादित र सम्मानित पेशा हो।समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण पनि मर्यादित र सम्मानित छ।देशमा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनमा पत्रकारको भूमिका अहम हुनेगरेको इतिहास छ। समाजका सकारात्मक परिवर्तनमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण छ नै।तसर्थ पत्रकारहरु समाजका रोल मोडल हुन् भन्दा फरक पर्दैन।तर पछिल्लो समय सूचना प्रविधिको व्यापकतासँगै मिथ्या,भ्रामक र अमर्यादित सूचनासामग्रीहरु समाजिक सञ्जालमा असरल्ल भेटिन थालेपछी आमनागरिकले पत्रकारहरुको पेशागत मर्यादामाथि प्रश्न उठाउन थालेका छन्।यसै सन्दर्भलाई समेट्ने गरि पत्रकार महासंघ मकवानपुरले संचार क्षेत्रको वर्तमान सम्भावना र चुनौती बिषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। महासंघले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान सहित यस वर्षको अन्तिम दिन शुक्रवार हेटौंडामा कार्यक्रम सम्पन्न गरेको हो। हेटौंडा उपमहानगर र महासंघको संयुक्त साझेदारीमा सम्पन्न कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँलाई प्रमुख अतिथिका रुपमा निम्त्याईएको थियो।
महासंघका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेंढाई,महासंघका केन्द्रिय तथा प्रादेशिक पदाधिकारीहरु, मकवानपुरका पूर्वाध्यक्षहरु लगायतको आतिथ्यता थियो।

कसले के भने?
राजेश बानियाँ,उपप्रमुख,हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले श्रमजीवी पत्रकारहरुको हकहितका लागि उपमहानगरले नीति नै बनाएर अघि बढ्ने बताए।पत्रकारहरुमाथी आईपर्ने चुनौतीहरुलाई सम्भावना र अवसरका रुपमा बदल्न उपमहानगरले अहम भूमिका खेल्ने उनले बताए।पत्रकारितालाई वैकल्पिक पेशाका रुपमा अँगाल्ने गरेको प्रसंग कोट्याउँदै बानियाँले सबै क्षेत्रमा उत्तिक्कै गुनासो र चुनौती हुने हुँदा निरन्तरको मिहिनेतले मात्र सफल्ता प्राप्त गर्न सकिने बताए।कुनैपनी पेशालाई वैकल्पिक पाटोका रुपमा हेर्न नहुने उनको भनाई थियो।

सूर्यप्रसाद सेंढाई,प्रजिअ,मकवानपुर

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेंढाईले पत्रकारहरुले कसैको देवत्वकरण नगरी गलतलाई गलत नै भन्ने साहस बोकेर काम गर्नुपर्ने बताए।उनले बिगतका वर्षहरुमा कमि कमजोरी भएको भए सुधारगर्दै पत्रकारहरुले आगामी दिनहरुमा व्यवसायीक निखारपन ल्याउनुपर्ने सुझाव दिए।


विश्वमणी सुबेदी,केन्द्रिय अध्यक्ष,समाजवादी प्रेस संगठन

समाजवादी प्रेस संगठनका केन्द्रिय अध्यक्ष विश्वमणी सुबेदीले प्रविधिको बढ्दो विकाससंगै संचारक्षेत्रमा देखापरेको बिकृती प्रती पत्रकार स्वंय जिम्मेवार हुनुपर्ने बताए।उनले प्रविधिलाई नियन्त्रण भन्दापनी नियमन गर्नुपर्ने बताए।पत्रकार स्वयं नसच्चिए यो क्षेत्र धराशायी बन्ने खतरा उत्पन्न भएको बताउँदै विषयवस्तुका प्रस्तुतीकरणमा सिर्जनशीलता हुनुपर्ने कुरामा जोड दिए।


प्रताप विष्ट,वरिष्ठ पत्रकार
वरिष्ठ पत्रकार प्रताप विष्टले हाल देशले बेहोरीरहेको आर्थिक मन्दीको सबैभन्दा ठूलो मार संचारक्षेत्रमा परेको बताए।यहि कारण लामो समयसम्म पत्रकारीता गर्नेहरु अहिले पलायन भैरहेको उनले बताए।अहिलेको अवस्थामा टिकिरहन सक्नु नै पत्रकारहरुको वर्तमान चुनौती रहेको उनको भनाई छ।उनले पत्रकारहरुले जे जस्तो परिस्थितिमा पनि नागरिकको मुल मुद्दामा केन्द्रित भै सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गर्नुपर्नेमा जोड दिए।


सुनिल खड्का,केन्द्रिय सदस्य पत्रकार महासंघ

पत्रकार महासंघका केन्द्रिय सदस्य सुनिल खड्काले मुलुकमा पछिल्लो तीनवर्ष यता संचारक्षेत्रमा ठूलो क्षती पुगेको बताएका छन्।यसबिचमा नेपालका सबै संचारगृह र संचारकर्मीहरुले चुनौतीपूर्ण संघर्ष गरिरहेको र क्षमतावान पत्रकारहरु समेत विदेश पलायन भएको बताए।पहुँचका भरमा टिकिरहनेहरु बाहेक क्षमतावान पत्रकारहरु सबै पलायन भैरहेको भन्दै संचारगृह र संचारकर्मीहरु जोगाउन सबै मिडियाहरुलाई समानुपातिक ढंगले बिज्ञापन उपलब्ध गराउन उनले सम्बन्धित पक्षलाई आव्हान गरे।


सम्झना कार्की,उपाध्यक्ष ,पत्रकार महासंघ वागमती प्रदेश

पत्रकार महासंघ वागमती प्रदेशकी उपाध्यक्ष सम्झना कार्कीले पत्रकारिता क्षेत्रमा लैंगिक समावेशीता नभएको बताईन्।संघ संगठनमा आरक्षणका आधारमा महिलाहरुलाई स्थान दिइएको भएपनि आमसंचारका क्षेत्रमा महिलाहरु नगण्य रहेको उनको भनाई छ।साथै उनले अर्को प्रसंग कोट्याउँदै मिडिया संचालकहरुमा मै खाउँ मै लाउँ प्रवृत्ति मौलाउँदै गएको बताईन्।
बालकृष्ण अधिकारी,अध्यक्ष,प्रेस चौतारी मकवानपुर
प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सूचना प्रविधिको व्यापकतासँगै मिथ्या समाचारहरुले आम नागरिकलाई भ्रमीत तुल्याईरहेको बताए।यस्तो अवस्थामा नागरिकहरुको भ्रम चिर्ने गरि पत्रकारले विषयवस्तु सम्प्रेषण गर्नुपर्ने उनको धारणा छ।‘आफुले दिने सूचना नै सहि सूचना हो भन्ने आम नागरिकलाई बिस्वस्त पार्न सक्ने बिषयवस्तु सम्प्रेषण गर्नुपर्छ।’ उनले भने।प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राणवायु भएकाले जोसुकैको स्वस्थ आलोचनाबाट बिमुख हुन नहुने उनले बताए।
कार्यक्रममा पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,पूर्वअध्यक्ष राममणी दाहाल,पत्रकारहरु सुनिल शिवाकोटी र जि न्यौपानेलगायतले विषय सान्दर्भिक चर्चा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय