जेठ २३,जनकपुर। विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (आज) बुधबार राति १२ बजेपछि स्वतः पदमुक्त हुने भएका छन् । मुख्यमन्त्री यादव आबद्ध रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको बुधबार राति १२ बजे ठ्याक्कै ३० दिन पुग्दैछ । संविधानको धारा १८८ को २ मा मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रदेश प्रमुख कार्यालय स्रोतले जनायो ।
तर,मुख्यमन्त्री यादवले भने आजै अपराह्न ३ बजे विश्वासको मत लिने तयारी गरे पनि ‘स्वास्थ्य’को कारण देखाउँदै जेठ २८ गते सार्न प्रदेशसभा सचिवालयलाई पत्र लेखेका थिए।
मुख्यमन्त्री यादवले वैशाख ३० गते एमाले–माओवादीले समर्थन फिर्ता लिएकाले त्यो मिति अनुसार विश्वासको मत लिन जेठ २८ गते समय मागेको हो ।
प्रदेश प्रमुख भण्डारीले भने मुख्यमन्त्री यादव आजै राति स्वतः पदमुक्त भएपछि बिहीबार संविधानको धारा १६८ को २ बमोजिक एक वा दुई भन्दा बढी दलको बहुमतमा नयाँ सरकार गठनका लागि आह्वानको तयारीमा छिन् ।
यता मुख्यमन्त्री यादवको दल जसपा नेपालका मधेश प्रदेशका प्रमुख सचेतक रामआशिष यादवले दल विभाजनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा थाँती रहेकाले त्यसैलाई आधार बनाएर पदमुक्त नहुने तर्क गरेका छन्।



