जेठ ३० निजगढ । बाराको निजगढ नगरपालिकाले नदीजन्य पदार्थ व्यवस्थापन गर्न दुई वटा एक्साभेटर भाडामा लिने भएको छ ।
नगरपालिका भएर बग्ने बकैया, भक्तालाल, धन्सार, शक्ति÷पसाह, बगर खोला, लगायतका खोलाको बगरमा गिटी, बालुवालगायत नदीजन्य पदार्थ थुप्रिएर बाढी र नदी कटानको समस्या उत्पन्न भएकाले सोको व्यवस्थापन गर्न एक्साभेटर भाडामा लिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिए।
नगर विपद व्यवस्थापन समितिको स्थलगत अनुगमनपछि च्यानलाइज गर्नुपर्ने भनेर पहिचान गरिएका स्थानहरुमा तत्कालै सो कार्य अघि बढाउन २ थान एक्साभेटर भाडामा लिने जेष्ठ २० गतेको बैठकले निर्णय भएको र सोही अनुसार एक्साभेटर भाडामा लिन लागिएको उनको भनाई छ ।
नगरपालिकाले एक्साभेटर भाडामा लिनका लागि जेष्ठ २७ गते सूचना जारी गरेको छ । सो सूचना अनुसार एक्साभेटर भाडामा लगाउन इच्छुक धनी, व्यक्ती वा फर्मले ७ दिनभित्रमा दररेट सम्बन्धी सिलबन्दी प्रस्ताव पेश गर्न नगरपालिकाले आह्वान गरेको छ ।
खोला बगरमा नदीजज्य पदार्थ थुप्रिँदा वर्षातको समयमा नदीले धार परिवर्तन गरी मानव बस्ती, खेतियोग्य जमिन, वनजंगल, सडक, नदी नियन्त्रणका लागि बनाइएको ड्याम र अन्य पूर्वाधार लगायतमा ठूलो क्षति हुने सम्भावना देखिएकोले नियन्त्रण र व्यवस्थापनमा नगरपालिकाले तदारुकता देखाएको हो ।



