साउन २६,हेटौंडा ।हेटौंडाका एक युवाले हेटौंडा उपमहानगरपालिका विरुद्ध` चुप´आन्दोलन गर्ने बताएका छन्।व्यवहारीक शिक्षामा जोड दिँदै आएको `नेम ईन्स्टिच्युट´का संचालक किशोर अर्यालले आर्थिक मन्दिको समयमा उपमहानगरपालिकाले व्यवसायीहरुमाथी कर छुट दिएर राहत दिनुपर्नेमा उल्टै बढाएको भन्दै `चुप´आन्दोलन गर्ने घोषणा गरेका हुन्।
“हेटौंडा उपमहानगरपालिकाले यो आर्थिक मन्दीमा नागरिकलाई कर छुट दिएर राहत दिनु पर्नेमा उल्टै १०० % सम्म कर बढाएर पीडामा झन नुनचुक छर्कने काम गरेको हुँदा यसैको विरुद्धमा आईतबार विहान १० बजे देखी ११ बजे सम्म उपमहानगरपालिकाको गेटमा म चुप आन्दोलन लिएर आउदै छु।”उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
हामी चुप लागेर बस्यौँ भने यो करले एकदिन हाम्रो अस्तित्व नै खाने उनले लेखेकाछन्।उनले आफ्नो अभियानलाई साथ दिन आईतबार बिहान १ घण्टा उपमहानगरपालिकाको गेटमा आउन पनि सम्बन्धित सबैलाई अनुरोध गरेकाछन्।
उनले आफ्नो सानो स्वरुपको अभियानबाट राज्यका बेथितिविरुद्ध नागरिक बिद्रोह शुरु गरेको बताएकाछन्।
`चुप´ नितान्त शान्तिपूर्ण आन्दोलन भएकाले तोडफोड,होहल्ला केही नहुने,हातमा बिरोधको प्ले कार्ड बोकेर दुबै ओठलाई बन्द गरेर उपमहानगरको गेटमा उभिने उनले बताएका छन्।
उनको स्टाटस जस्ताको तस्तै तल हेर्नुहोस्।
हेटौंडा उपमहानगरपालिका विरुद्ध आन्दोलन
हेटौंडा उपमहानगरपालिकाले यो आर्थिक मन्दीमा नागरिकलाई कर छुट दिएर राहत दिनु पर्नेमा उल्टै १०० % सम्म कर बढाएर पीडामा झन नुन, चुक छर्कने काम गरेको हुदा यसैको विरुद्धमा भोली आईतबार विहान १० बजे देखी ११ बजे सम्म उपमहानगरपालिकाको गेटमा म चुप आन्दोलन लिएर आउदै छु । यो आन्दोलनमा हामी कराउदैनौ, चिच्याउदैनौ, तोडफोड गर्दैनौ, कसैलाई काम गर्न रोक्दैनौ, आवागमन रोक्दैनौ । हामी विरोधका प्लेट कार्ड सहित गेटमा चोरी औलाले आफ्नो दुबै ओठलाई बन्द गरेर उभिन्छौ । यहि हो चुप आन्दोलन । मलाई साथ दिन चाहनु हुने सम्पुर्ण नागरिकहरु विहान १० बजे हेटौंडा उपमहानगरपालिकामा भेटौ । हामी चुप लागेर बस्यौ भने एकदिन यो करले हाम्रो अस्तित्व नै खान्छ । सानो स्वरुपको १ घण्टे आन्दोलनबाट नागरिक विद्रोह शुरु गरौ । आउनुस मिलेर लडौ ।





