माघ ९,काठमाडौ। भारतमा केही दिनअघि सम्पन्न प्रथम खो-खो विश्वकपमा उपविजेता बनेकाे नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेकाे छ।
रास्वपाकाे युवा तथा खेलकुद विभागले बुधवार दुबै टाेलीलाई पार्टी कार्यालय, बनस्थलीमा निम्त्याएर विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि सम्मान गरेकाे हाे।
सम्मान कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य विजय जैरु, विभागका सचिव पुरुषोत्तम पोखरेल, सदस्य ई. जगदीश खरेललगायत नेताहरुको उपस्थिति थियो।
नेपाली खो-खो टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएको भन्दै पार्टीका नेताहरूले खेलाडीलाई बधाई दिएका थिए।
खेलाडीका प्रतिनिधि वक्ताले प्रोत्साहन गरिएकाेमा आभार व्यक्त गर्दै रास्वपाले सकारात्मक सन्देश दिएकाे बताएका थिए।



