माघ १७,काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका प्रावधानहरुप्रति आपत्ति जनाएको छ।

रास्वपाले विहिवार एक बिज्ञप्ति जारी गर्दै सरकारले दर्ता गरेको विधेयक पछाडिको नियत सहि नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

“अध्यादेशका गलत बाछिटाहरूले नेपाली राजनीतिलाई दूषित बनाउँदै गर्दा त्यसकै सेरोफेरोमा आएको यो विधेयक पछाडिको नियत सही देखिँदैन।” बिज्ञप्तिमा भनिएको छ।

नागरिकले आफुलाई भन्न मनलागेको कुरा सबैसामु पुर्याउन मिल्ने सञ्जालको दरिलो पक्षलाई नजर अन्दाज गरि नकारात्मक कुरामा मात्र विधेयक केन्द्रित हुनु सहि नभएको रास्वपाको ठहर छ।

सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई सार्वजनिक बहस र छलफलबाट छलेर हतारहतार दर्ता गर्नुले सरकारको नियतमा रहेको खोटलाई उजागर गरेको भन्दै
रास्वपाले नागरिक अधिकारमाथि अंकुश लगाउने नियतले सरकारले यस्ता कानुनी प्रावधान ल्याएको र त्यसलाई संसदमा सङ्ख्या देखाएर पारित गर्नतर्फ उद्दत रहेको आरोप लगाएको छ।

विधेयकलाई लोकतन्त्रको दुरुपयोगका रूपमा व्याख्या गर्दै कुनै बदनियत नराखी, सार्वजनिक छलफलबाट प्राप्त धारणा समेतलाई समेटेर संविधानले प्रत्याभूत गरेका मौलिक हक तथा नागरिक स्वतन्त्रता कुण्ठित हुन नहुने गरी विधेयक ल्याइनु पर्दछ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट भएको बिज्ञप्तिमा उल्लेख छ।

वाक् तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानून कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै रास्वपाले यस विधेयकलाई अविलम्ब फिर्ता लिई प्रत्यक्ष र परोक्ष सरोकारवालाहरुसँगको परामर्श तथा संवैधानिक मूल्य–मान्यता अनुरूप पुनर्लेखन गर्न पनि सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय