माघ २१,काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई मन्त्रालयमा सूचीकरण गर्न ताकेता गरेको छ ।
सोमवार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ बमोजिम मन्त्रालयमा दर्ता गर्न आह्वान गरेको हो ।
यस्तै मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क बिन्दुको व्यवस्था गर्नुपर्ने पनि उल्लेख गरेको छ ।
‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने वा सञ्चालनमा रहेका व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने तथा ऐ. निर्देशिकाको दफा ६ मा उल्लिखित व्यक्ति, कम्पनी वा संस्थाले नेपाल भित्र सम्पर्क बिन्दु (पोइन्ट अफ कन्टयाक्ट) को व्यवस्था गर्नुपर्ने।’ उल्लेख छ ।
त्यस्तै निर्देशिका बमोजिम दर्ता र सञ्चालन नभएमा त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने चेतावनी समेत दिएको छ ।
निर्देशिका बमोजिम दर्ता भएका प्लेटफर्मले समेत नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने, सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा देशभर इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
यसका अतिरिक्त नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०५/०६ को निर्णयवाट नेपालभित्र दर्ता गरी सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने, सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा देशभर इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने, शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधार गर्न डिजिटल सहयोग कार्यक्रम सञ्चालन गर्ने र नेपाली भाषा तथा अन्य राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु (कन्टेन्ट) फिल्टरिङ् एवम् मोडरेसनलाई प्रभावकारी बनाउने, सामाजिक सद्भाव बिगार्ने तथा अश्लिलता फैलाउने विषयवस्तु हटाउन सहयोग गर्ने र विद्युतीय अपराध नियन्त्रणमा सहयोग पुर्याउने गरी सामाजिक सञ्जाल प्लेटफर्मलाई थप जिम्मेवारी तोकिएको हुँदा सोही बमोजिम गर्न गराउनुहुन समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ भनिएको छ।



