माघ २३,चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सङ्गठित अपराधको मुद्दा नचलाए पछि चितवनका सरकारी वकिल कार्यालय प्रमुखको सरकारले सरुवा गरेको छ ।

रविविरुद्ध संगठित अपराधको कसुरमा मुद्दा दर्ता नगरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरेको छ । महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार मानिन्छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा मंगलबार लामिछानेविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता गरेको थियो ।

त्यसबाट आक्रोशित महान्यायाधिवक्ता रमेश बडालले लुइँटेलको सरुवा गरेका हुन् । उनलाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ । चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ ।

आकस्मिक रुपमा आफ्नो सरुवा भएको लुइँटेलले बताए । ”मेरो सरुवा भएको छ, चितवन आएको १५ महिना मात्रै भएको थियो,” उनले भने, ”अहिले काठमाडौँ फर्कँदै छु।”

उनी २०८० मंसिरमा चितवन सरुवा भएर आएका थिए । सरकारी वकिलहरूको सरुवा सामान्यतया हरेक २ वर्षमा गर्ने गरिन्छ ।

सरकारले भनेको जस्तो मुद्दा नचलाएका कारण उनको सरुवा भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोत बताउँछ । तर, लुइँटेलले रविको मुद्दा दर्ता र आफ्नो सरुवाबारे भने केही बोल्न मानेनन् ।

जिल्ला सरकारी वकिल कार्यालय चितवन स्रोतकाअनुसार रविमाथि सङ्गठित अपराधमा समेत मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयबाट जिल्ला न्यायधिवक्ता लुइँटेलमाथि तीब्र दबाब थियो ।

तर, उनले सहकारीको रकम गोर्खा मिडियामा लैजान रविको संलग्नता नदेखिएको भन्दै सङ्गठित अपराधको मुद्दा नचलाउने निर्णय गरेका थिए ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा सोमवार जिल्ला सरकारी वकिल कार्यालय चितवनले ३२ जना व्यक्ति र ६ वटा संस्था विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।

जसमध्ये गोरखा मिडियाको सञ्चालक रहेका जिबी राई, छविलाल जोशी र कुमार रम्तेल विरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराधको पनि मुद्दा लागेको थियो । रविलाई भने सरकारी वकिल कार्यालयले सहकारी ठगिको मात्रै मुद्दा दायर गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय