फागुन२५काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेतृहरूले महिला सुधार गृहमा भेटघाट र छलफल गरेका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शनिवार महिला नेतृहरू सांसद डा. तोसिमा कार्की, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य कुसुम महर्जन, ललितपुर जिल्ला उपसभापति प्रभा कार्की, ललितपुर महानगरपालिकाकी राजनैतिक सल्लाहकार डा. निना रेग्मी लगायतको टोलीले केन्द्रीय कारागारमा गई महिला कैदीहरूसँग उनीहरूको भौतिक तथा मनोसामाजिक स्थिति बारेमा अवलोकन तथा छलफल गरेका हुन्।

महिला नेतृको टोलिले पहिलो चरणमा सेन्ट्रल जेलका जेलर, डिएसपी र ना.सु लगायत महिला सुधार गृहमा प्रशासन र सुरक्षा हेर्ने समूहसँग र दोस्रो चरणमा सुधार गृहमा महिला कैदीहरूसँग भेटघाट र अन्तर्क्रिया गरेका थिए।

महिला बन्दीहरूको त्यहाँको रहनसहन, बसाई, बस्ने ठाउँ, खानपिन, स्वास्थ्य चेकजाँच, मनोसामाजिक स्थिति, आफन्तसँग सम्पर्क, शिक्षा, व्यावसायिक तालिम तथा सीपको स्थिति, सुत्केरी तथा गर्भवती स्थिति लगायत उनिहरुले खेपिरहेका मुद्दा र सजाय सम्बन्धी अनुभव र भोगाईका साथै राज्यले लिनुपर्ने अभिभावकत्व, जिम्मेवारी र नीतिगत सुधारका बारे विस्तृत रूपमा छलफल भएको कोषाध्यक्ष अधिकारीले बताईन्।

पूर्पक्षका लागि थुनामा रहेका या सजाय भोगिरहेका बन्दीहरूले पनि अन्य नागरिक सरह आधारभूत हक, अधिकारसहित सम्मानपूर्वक जिउन, सच्चिन र सम्मानपूर्वक आफ्नो साधारण जीवनमा फर्कने वातावरण पाउनुपर्ने र त्यसका लागि विद्यमान व्यवस्थामा रहेका नीतिगत कमजोरीहरूलाई पहिल्याउन र आवश्यक सुधारको पैरवी गर्ने आधार खोज्नु नै भ्रमणको मुख्य उद्देश्य रहेको सांसद डा.कार्कीले बताईन्।

केन्द्रीय कारागार महिला सुधारगृहमा ४९९ जना महिला कैदीहरू रहेको तथ्याङ्क छ। सुधार गृहमा ज्यान मुद्दा, लागूऔषध, ठगी र प्रायजसो बैंकिङ कसुरका मुद्दामा परी सजाय भोगिरहेका महिलाहरू रहेको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय