चैत्र११,हेटौंडा। हेटाैंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले नगरभित्रका ४ ओटा सामुदायिक क्याम्पसहरूका नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ।
कार्यालयले सोमवार मकवानपुर बहुमुखी क्याम्पस, हेटाैँडा बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र बंशगाेपाल बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सम्मान गरेको हो।

भर्खरै सम्पन्न स्ववियु निर्वाचन मार्फत मकवानपुरमा प्रसिद्ध रेग्मी,हेटौंडा क्याम्पसमा अभि मैनाली,निर्मल बहुमुखी क्याम्पसमा प्रशान्त भण्डारी र वंशगोपाल बहुमुखी क्याम्पसमा दिवस सिलवाल अनेरास्ववियुका तर्फबाट निर्वाचित भएका थिए।
सो अवसरमा बोल्दै वडाध्यक्ष नवीन सिग्देलले स्ववियुले शैक्षिक गुणस्तर बृद्विका लागि महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताएका छन्।
साथै उनले विद्यार्थीहरु बिच स्ववियुलाई लाेकप्रिय र विश्वासिलाे संगठनको रूपमा स्थापित गर्नुपर्ने पनि बताएका छन्।
मकवानपुर बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहेका सिग्देलले स्ववियुले रचनात्मक क्रियाकलापद्वारा विध्यार्थीकाे चाैतर्फी विकास र शैक्षिकस्तर माथी उठाउन ध्यानदिनु पर्नेमा जाेड दिएका थिए ।
उनले स्ववियुकाे शुरूवात निरंकुश पंचायति व्यवस्थाविरूद्व विद्यार्थीहरुले आवाज उठाउने क्रममा भएकाे स्मरण गर्दै विद्यार्थीहरु सधैं लाेकतन्त्र र परिवर्तनकाे पक्षमा रहेकाे बताए।
कार्यक्रममा स्ववियुका नवनिर्वाचित सभापतिहरुले स्ववियु जहिले पनि विद्यार्थीको असल प्रतिनिधिकाे रूपमा काम गर्ने संगठन भएको बताएका थिए।




