असार७,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ।
रास्वपाले शनिवार आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर उक्त रकम मानवीय सहयोगस्वरुप प्रदान गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल दिउँसो स्व. पत्रकार रजकको घर पुगी चेक हस्तान्तरण गरेका हुन्।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शनिवार विहान मात्रै माईतिघरमा आयोजित एक कार्यक्रममा स्व.रजकको परिवारलाई उक्त सहयोग रकम प्रदान गर्ने घोषणा गरेका थिए।
रास्वपाले आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरेको छ।



