असार २२,भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति एकै परिवारका चार जनाको हत्या भएको छ।
ससुराली पुगेका ज्वाइँ राजेन्द्र राईले ससुरा, सासु, श्रीमती र सालोको छुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए।
“ममाथि चक्कु प्रहार भयो, त्यसपछि मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्।”राईको भनाई उधृत गर्दै प्रहरीले भन्यो।
त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी,४५ वर्षीया सासु मञ्जु गिरी,१६ वर्षीया श्रीमती मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको शव फेला पारेको थियो।
हत्या आरोपित राई भने घटना स्थलभन्दा करिब पाँच किलोमिटर टाढा हर्बुभञ्ज्याङमा घाइते अवस्थामा फेला परेका प्रहरीको भनाई छ।
उनको पेटमा धारिलो हतियारका चोट देखिएको र हाल जिल्ला अस्पतालबाट थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ।
राजेन्द्रले प्रारम्भिक बयानमा राति सुतिरहेको बेला सासूले आफूमाथि छुरी प्रहार गरेपछि आफूले छुरी खोसेर सबैलाई मारेको बताएका छन्। प्रहरीले घटनाको पृष्ठभूमिमा पारिवारिक असमझदारी र प्रेम विवाहलाई जोडेको छ।
राजेन्द्रले झण्डै एक वर्षअघि मनिषासँग प्रेम विवाह गरेका थिए।
पहिलेकी पत्नीले छोडेपछि मनिषासँगको सम्बन्ध सुरु भएको र उनलाई भगाएर ल्याएको जनाइएको छ।
केहि समय अघिदेखि मनिषा माइतीमै थिइन्। राजेन्द्र उनलाई लिन ससुराली गाउँमै थिए। शनिवार भने मनिषालाई लगिछाड्ने अठोटका साथ उनी मनिषाको घर पुगेका थिए।, तर उमेर नपुगेको भन्दै ससुराली पक्षले मनिषालाई नपठाउने अडान लिएपछी विवाद शुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




