साउन९,हेटौंडा।कांग्रेस वागमती प्रदेशमा आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीभित्रैबाट मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
सांसद ईन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ जना प्रदेशसभा सदस्यले लामाको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै संसद सचिवालयमा हस्ताक्षरसहितको अविश्वास प्रस्ताव पेश गरेका हुन्।

प्रदेश सभामा ३७ सदस्य रहेको कांग्रेसको संसदीय दलको नेता बन्न १९ मत पर्याप्त हुन्छ।तर,बानियाँको पक्षमा स्पष्ट बहुमत देखिएको छ।
बहुमत सांसदको समर्थनमा प्रस्ताव दर्ता भएपछि लामाको नेतृत्व संकटमा परेको छ । यसअघि बानियाँलाई पराजित गर्दै नेता बनेका लामामाथि जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लागेको छ।
यसैबीच सरकारमा रहेका चारजना मन्त्रीहरु सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन, बिमल ठकुरी र मदुकुमार श्रेष्ठले सामूहिकरूपमा राजीनामा दिँदै लामा नेतृत्वप्रति असहमति प्रकट गरेका छन्।
अविश्वास प्रस्तावको पृष्ठभूमिमा प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर दलभित्रै ठूलो विवाद उत्पन्न भएको थियो।
बजेट व्यवस्थापनमा सन्तुलन नदेखिएको भन्दै लामाको कार्यशैलीप्रति चर्को असन्तुष्टि बढेको बताइन्छ।
बानियाँले दलभित्रको बहुमत लामाको पक्षमा नरहेको पुष्टि गर्दै केही दिनभित्र नयाँ नेता चयन हुने जानकारी दिएका छन् ।




