असोज ९,काठमाडौं।सिधाकुरा डटकम र यसका सम्पादक नवीन ढुंगानालाई समाचार सम्प्रेषण गरेकै आधारमा भौतिक आक्रमणको धम्की आएको छ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा जलेको अवस्थाको रकमबारे रिर्पोटिङ गरेको भन्दै एक अपरिचित व्यक्तिले सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमार्फत सिधाकुरामा आगो लगाउने र सम्पादकलाई ज्यान लिने धम्की दिएका हुन्।

विहिवार बिहानै देखि “सानू भाइ” नामक फेसबुक अकाउन्टबाट सिधाकुराको आधिकारिक म्यासेन्जरमा उक्त धम्की आएको पत्रकार युवराज कंडेलले उल्लेख गरेका छन्।

म्यासेन्जरमा पठाइएको धम्कीपूर्ण म्यासेजमा देउवाको घरमा जलेको पैसाबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको दाबी गरिएको छ । यस्तै, समाचार प्रकाशन प्रसारण नरोके सिधाकुराको कार्यालयमा डिजेल खन्याएर आगो लगाउने र समाचार प्रस्तुत गर्नेलाई छाला काढ्ने धम्कीमा भनिएको छ ।

‘यो मान्छे को हो यसको छाला कसरी निकाल्छु हेर्दै जाउ’ समाचारको भिडियोको लिङ्क पठाएर धम्काइएको छ । यस्तै ति व्यक्तिले सिधाकुराको अफिस कहाँ हो भन्दै डिजेल हालेर आगो लगाउने पनि धम्की दिएका छन् । उनले बाँच्न मन भए आफूहरूको विरुद्धमा लाग्न छोड्न पनि म्यासेजमा भनेका छन् । ‘कहाँ छ तिमिहरुको अफिस डिजेल हालेर पोलिदिन्छु । बाँच्न मन छ भने हाम्रो विरुद्ध आउन छोड,’ धम्कीमा भनिएको छ ।

उक्त पेजबाट थप ६ वटा अडियो म्यासेजमार्फत लिखित जस्तै धाकधम्की दिइएको कंडेलले बताए।

उक्त धम्कीपछि सिधाकुरा र सम्पादक ढुंगानाले नेपाल प्रहरीको साइबर अपराध ब्यूरोलाई घटनाबारे जानकारी गराउँदै पीडकलाई कारबाही माग गर्दै निवेदन दिएका छन्।

धम्की र त्रासको अवस्थाबारे सिधाकुराले नेपाल पत्रकार महासंघ र काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई पनि जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय