असोज२३,हेटौंडा।जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका घटनामा नेकपा एमालेको भातृ संगठन मकवानपुरले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपाल संस्थाका सुदन गुरुङलगायतविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी पेश गरेको छ।

अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेलले बुधवार पेश गरेको जाहेरीमा मेयर साह र अर्का अभियन्ता गुरुङले भाद्र २३ र २४ गते विद्यार्थी र युवालाई उक्साएर सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, आगजनी र लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोप लगाइएको छ।

जाहेरीमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७७अन्तर्गत हत्या,लुटपाट र आपराधिक उपद्रवमा कारवाही माग गरिएको छ। जाहेरीसँगै भिडियो र फोटो समेटिएको पेन ड्राइभ पनि प्रमाणका रूपमा पेश गरिएको छ।

जिल्ला कमिटि सचिवालय सदस्य गौरी तिमल्सिनाले जाहेरी पत्र प्रहरी कार्यालयमा वाचन गरी हस्तान्तरण गरे पनि दर्ता प्रक्रिया भने बाँकी रहेको छ।

प्रहरीले उक्त जाहेरी दर्ता गर्ने वा नगर्ने सरकारी वकिलसँग समन्वय गरेर मात्र जानकारी गराउने बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुवासचन्द्र बोहराले सरकारी वकिलसँग परामर्श गरेर जाहेरी लिने नलिने आज विहिवार जानकारी दिने बताएको अनेरास्ववियु जिल्ला संयोजक पौडेलले जानकारी दिए।

जाहेरी हस्तान्तरणमा अनेरास्ववियु केन्द्रीय सदस्य एवं बागमती प्रदेश इन्चार्ज भुवन मैनाली, सचिवालय सदस्य र मकवानपुरगढी गाउँपालिका इन्चार्ज भरतमोहन देवकोटा युवासंघ नेपाल,मकवानपुरका सचिव तथा पदाधिकारी , अनेरास्ववियु मकवानपुरका नेताहरू लगायतको सहभागिता थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय