कार्तिक३०,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतिले आफ्नो पालिकामा व्यक्तिगत खर्चमै सडक स्तरोन्नति गरिदिने भएका छन्।
पालिकाको वडा नम्बर २ कर्मचोकदेखि वडा कार्यालय सम्मको करिब २०० मिटर सडकमा अध्यक्ष कालाखेतीले व्यक्तिगत लगानीमै स्ल्याब ढलान गरिदिने भएका हुन्।

६ मिटर चौडा हुने स्ल्याब ढलानको शनिवार प्राविधिक टोलीमार्फत लागत स्टिमेट तयार पारिएको छ। स्टिमेट अनुसार स्ल्याब ढलानका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अध्यक्ष कालाखेतीले बताए।
एक औपचारिक कार्यक्रममार्फत जानकारी दिंदै अध्यक्ष कालाखेतीले केही दिनभित्रै उक्त सडक स्तरोन्नतिको काम सुरु हुने बताएका छन्।
जेनजी आन्दोलनपछि गाउँपालिकामा देखिएको भौतिक क्षति र बजेट कटौतीका कारण विकास आयोजनाहरू प्रभावित भएपछि स्थानीयको आवश्यकता र मागलाई बुझेर व्यक्तिगत लगानीमै सडक बनाउने निर्णय गरिएको उनको भनाई छ।
उनले जनप्रतिनिधि बनेदेखि सरकारी सवारी सेवा सुविधा नलिएको र प्राप्त तलबभत्ता समेत जनतामै खर्च गर्दै आएको बताएका छन्।
कालाखेतीले आफ्नो तलबभत्ताबाट मनहरी-५ मा एक विपन्न परिवारको घर निर्माण गरिदिएका छन् भने मनहरी-६ मा पनि अर्को घर निर्माणकार्य भइरहेको छ। यस्तै, विपन्न बालबालिकाका लागि छात्रवृत्ति तथा पोसाकमा समेत उनले निजी रकम खर्च गर्दै आएका छन् ।




