मंसीर१८,काठमाडौं।पूर्वमन्त्रीसहित १० जना विशिष्ट व्यक्तिहरुको हत्या गर्छु भन्दै धम्की दिने व्यक्ति ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ भन्ने संस्थाका अध्यक्ष बताउने प्रकाश पाठक भएको खुलेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएपछि प्रहरीले यसबारे खोजी र अनुसन्धान अघि बढाएको जनाएको छ।
यसरी धम्की दिँदै पठाइएको पत्रमा प्रकाश पाठकको नाम उल्लेख छ।
अख्तियार प्रमुख राईलाई लेखिएको पत्रमा,‘हाम्रो केन्द्रीय कमिटीले तपाईंसहित १० जना भ्रष्ट प्रशासक र अस्थिर सरकारका कारण सत्तामा आएकाको हत्या गर्ने निर्णय गरेकोमा दु:खी छौं। तपाईंले राजीनामा दिनुपर्छ वा मारिनुपर्नेछ। तपाईंले १० दिनभित्र राजीनामा दिएमा हामी आक्रमण गर्ने छैनौं।’भनिएको छ।
पाठकले भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीलाई लगाएर यो आक्रमण गर्ने उल्लेख गरेका छन्। तर जिम्मेवारी भने आफूले लिने पत्रमा भनिएको छ।
यो पत्र केहीदिन अघि नै उच्चपदस्थ व्यक्तिहरूलाई पठाइएको थियो। यसरी इमेल आएपछि नेपाल प्रहरीका विभिन्न निकायले यससम्बन्धी अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रकाश पाठकको खोजी भइरहेको छ।
अख्तियार प्रमुख राईसहित पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्व महानिर्देशक गोपालबहादुर खड्का, पूर्व मन्त्रीहरू रमेश लेखक, बालकृष्ण खाँड र आरजु राणा देउवा पूर्व प्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उनले ज्यान मार्ने धम्की दिएको बताईएको छ।



