पुस१८,काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार तत्काल विशेष केन्द्रीय महाधिवेशन आह्वान गर्न माग दोहोर्याएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयमै हुन नसकेकाले अब विशेष महाधिवेशन अपरिहार्य भएको बताए । उनीहरूका अनुसार विधानअनुसार बहुमत महाधिवेशन प्रतिनिधिले माग गरिसकेको अवस्थामा केन्द्रीय कार्यसमितिले यसलाई कार्यान्वयन गर्नुपर्छ ।
प्रतिनिधिहरूले महाधिवेशन पार्टीको जीवनधारा भएको उल्लेख गर्दै नेतृत्वको ढिलासुस्तीका कारण पार्टी संगठन र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप लगाए । साथै विधानले तोकेको समयसीमाभित्र विशेष महाधिवेशन आयोजना गर्न केन्द्रीय नेतृत्वसँग पुनः आग्रह गरेका छन् ।



