पुस १९, पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकीका नेता पुष्प अधिकारी एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
संघीय महिला बालबालिका मन्त्री र गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका खड्कालाई कांग्रेसले अन्तरघात गरेको आरोपमा निष्कासन गरेपछि आज रास्वपा प्रवेश गरेका हुन् ।
उनीहरूलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले पार्टीमा स्वागत गरेका थिए ।
कांग्रेसले आफ्ना उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको भन्दै निष्कासन गरेको थियो । साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेर कारबाही गरेपछि उनी रास्वपा जान लागेका हुन् ।
अहिले उनको पनि कारबाही फुकुवा भइसकेको छ तर आफूले निर्णय लिइसकेको भन्दै कांग्रेस नफर्किने भन्दै खड्का रास्वपा प्रवेश गरेका हुन् ।
रास्वपा प्रवेश गर्न लागेकी कांग्रेस महाधिवेशन प्रतिनिधि थापा अहिले गण्डकीका सामाजिक विकास मन्त्री रहेका विन्दुकुमारकै भाइबुहारी हुन् ।
त्यस्तै,रास्वपा प्रवेश गरेका अधिकारी एमालेबाट अघिल्लो पटक पोखरा महानगरमा मेयरको आकांक्षी थिए । अधिकारी अघिल्लो पटक एमालेको गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए । अधिकारी एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिन्थे।



