माघ २०,हेटौंडा।मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ स्थित महालक्ष्मी खोलाको किनारमा एक चितुवा मृत अवस्थामा फेला परेको छ।

सोमबार (माघ १९ गते) साँझ करिब ५:३० बजेको समयमा खोला किनारमा चितुवा मृत अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) दिनानाथप्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

​प्रहरीले मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सानुकाजी श्रेष्ठ, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको रोहवरमा घटनास्थलको मुचुल्का उठाएको छ।

मुचुल्का कार्य सम्पन्न भएपश्चात सोही दिन राति ८:१० बजे मृत चितुवालाई गोदाम चौरमा लगेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

​घटनास्थल इलाका प्रहरी कार्यालय चित्लाङबाट करिब १ किलोमिटर दक्षिणमा पर्दछ। चितुवा के कारणले मरेको हो भन्नेबारेमा भने स्पष्ट हुन सकेको छैन।

वन कार्यालय र सुरक्षा निकायले यस विषयमा थप जानकारी संकलन गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय